जनकपुरधाम,४ चैत । तराई मधेशमा चैत आगमनसँगै गर्मी सुरु भएको छ । गर्मीबाट राहत पाउन पंखा(कुलर किन्न थालेको बेला धनुषाको नगराराइन नगरपालिकाले भने नागरिकलाई फाइबर सिरक वितरण सुरु गरेको छ ।
जाडोबाट जोगिन भन्दै वडा. नं. ७ का जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई सिरक वितरण गरिएको हो । शुक्रबार वडाका २०० भन्दा बढी नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिनुभयो ।
वडाको अनुमानित सात लाख बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपांगलाईलाई वितरण गर्ने काम भइरहेको छ । प्रति सिरक २ हजार २ सयको दरले खरिद गरिएको वडाध्यक्ष साहले बताउनुभयो ।
लामो विवादको कारण माघ १८ गते नगरसभा नै भएको कारण विनियोजित बजेटबाट सिरक वितरण गर्न ढिलो भएको उहाँले बताउनुभयो । यद्यपि अहिले सिरक वितरण गरिएपछि आगामी जाडोमा काम लाग्ने वडाध्यक्ष साहको भनाइ छ।