गोरखा, १९ फागुन । गोरखा जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले उचालेको छ । सिरानचोले ९ स्वर्ण, ६ रजत र ६ कास्य गरी कुल २१ पदकसहित उपाधि जितेको हो । प्रतियोगितामा विजयी बनेको सिरानचोकका खेलाडीहरुलाई आज सिल्ड प्रदान गरिएको खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तसिं बस्न्यातले जानकारी दिनुभयो । उहाँका अनुसार पालुङटार नगरपालिकाले ५ स्वर्ण, ३ रजत र ४ कास्य सहित कुल १२ पदक सहित दोस्रो बनेको छ ।
बारपाक सुलिकोट गाउँपालिकाले ४ स्वर्ण, ४ रजत १ कास्य जित्दै कुल ९ पदक सहित तेस्रो बन्यो भने ४ स्वर्ण, ३ रजत १ कास्य जितेर कुल ८ पदक सहित भिमसेन थापा गाउँपालिका चौथो बनेको छ । यस्तै गोरखा नगरपालिकाले ३ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल ११ पदक, गण्डकी गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ४ कास्य सहित कुल ९ पदक, आरुघाट गाउँपालिकाले १ स्वर्ण, २ रजत र ५ कास्य पदक गरी कुल ८ पदक हात पारेको अध्यक्ष बस्न्यातले बताउनुभयो । यसैगरी अजिरकोट गाउँपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ५ पदक, शहिदलखन गाउँपालिकाले १ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल ५ पदक हात पारेको छ ।
प्रतियोगितामा जिल्लाका ११ स्थानीय तह मध्ये चुमनुब्री बाहेक सबै स्थानीय तहका आठसय भन्दा बढी विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो । मंगलबारबाट सुरु भएको प्रतियोगिता हिजो समापन गर्ने पूर्व निर्धारित कार्यक्रम रहेता पनि विविध कारणले गर्दा आज समापन गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा भलिबल, कब्बडी, दौड लगायतका ३० विधाका खेलहरु खेलाइएको थियो । पालिकास्तरमा छनोट भएका विद्यार्थीले जिल्लास्तरीय प्रतियोगीतामा सहभागी थिए । अव जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रदेशस्तरीय प्रतियोगिता खेल्ने जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।