गुलरिया ११ फागनु । चितुवाको आक्रमणबाट ३ जना घाइते भएका छन् । बर्दियाको मधुवन नगरपालिका–२ स्थित बंगालीपुरमा बाख्रा चराउन गएका ७० वर्षीय फुलराम थारुलाई चितुवाले एक्कासि झम्टेपछि उद्धार गर्न पुगेका उद्धारकर्मीलाई चितुवाले आक्रमण गरेको हो ।
जंगल किनार बस्ती नजिकको झाडीमा चित्तल शिकार खाइरहेको चितुवाले बाख्रा चराइरहेका फुलरामलाई देखेपछि एक्कासि पछाडिबाट टाउकोमा आक्रमण गरेको डिभिजनल वन कार्यालय बर्दियाका अधिकृत द्रोणराज शर्माले बताउनुभयो।
गाउँले सहितको टोली लिएर उद्धारका लागि पुगेका डिभिजनल वन कार्यालय बर्दियाका कर्मचारी ४० वर्षीय धर्मराज चौधरी समेतलाई चितुवाले हातमा आक्रमण गरेको हो। सोही क्रममा १५ वर्षीय बालक विनय चौधरीको ढाडमा चितुवाले चिथोरेको अधिकृत शर्माले जानकारी दिनुभयो ।
७० वर्षीय वृद्धको टाउकोमा ४ वटा टाँका लगाइएको छ। तिनै जनाको अवस्था खतरामुक्त रहेको रहेको जनाइएको छ ।