गोरखा, ४ फागुन । गोरखामा रेबिज कुकुरको टोकाईबाट एक बालकको मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भएका ४ वर्षीय बालकको रेबिज कुकुरको टोकाईको कारण मृत्यु भएको हो ।
बालकको उपचारका क्रममा गए राति गोरखा अस्पतालमा ज्यान गएको उनको परिवारले जनाएको छ । उनलाई पुषमा अजिरकोट गाउँपालिका(४ को बालुवा बजारमा कुकुरले टोकेको थियो । स्थानीय मेडिकलमा सामान्य उपचार गरे पनि केहीदिनदेखि उच्च ज्वरो आउन थालेपछि उनलाई उपचारका लागि फागुन १ गते गोरखा अस्पताल ल्याइएको थियो ।
अस्पतालले रेबिजको आशङ्कामा थप उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएकोमा अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको थियो । काठमाण्डौबाट फिर्ता गरिएका बालकलाई बुधवार गोरखा अस्पतालमै भर्ना गरिएको थियो ।
रेबिजका कारण बालकको ज्यान गएपछि अजिरकोट गाउँपालिका(४ बालुवा बजार र बालकको घर भएको ठाउँ बारपाक सुलिकोट गाउँपालिका(४ मा पनि अभिमुखीकरणको तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।