गोरखा, २० माघ । गोरखाको भिमसेनथापामा गाउँपालिका कुकुरको टोकाइवाट स्थानीयबासीहरुमा त्रास फैलिएको छ । गाउँपालिकाको वडा नम्बर २ स्थित तान्द्राङ ओख्लेमा कुकुरको टोकाईबाट एउटा बाख्रा मरेपछि रेविज फैलिएको आंशकामा स्थानीयबासीमा त्रास फैलिएको हो । बिहीबार बिहान करिब १० बजेको समयमा जर्मन सेर्फड जातको कुकुरले एक जना मानिस र ८ बाख्रालाई टोकेको स्थानीयले जानकारी दिएको भीमसेन थापा गाउँपालिका पशुसेवा शाखाका केशरबहादुर थापाले जानकारी दिनुभयो ।
कुकुरले टोकेर भागेको २४ घण्टा नबित्दै टोकाईबाट एउटा बाख्रा मरेपछि रेविज भएको हुनसक्ने आंशका गरिएको उहाँको भनाई छ । कुकुरको टोकाईबाट ४ बटा बाख्रा गम्भीर बिरामी भएको थापाले बताउनुभयो । घटनाको जानकारी पाएलगत्तै भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखा र गाउँपालिका पशुसेवा शाखाका टोली घटनास्थलमा पुगेर कुकुरको टोकाईबाट चोट लागेर र उनिहरुको सर्सगमा आएका पशुबस्तुलाई रेविज बिरुद्धको भ्याक्सिन लगाइएको उहाँले बताउनुभयो ।
‘कुकरले टोकेका पशुबस्तुलाई भ्याक्सिनेसन कार्यक्रम भयो, थापाले भन्नुभयो,‘त्यसबाहेक खोरमा संगै रहेका अन्य गरी ३८ वटा बाख्राहरु, उक्त कुकुरको संसर्गमा रहेका अनुमान गरिएका कुकुरलाई पनि रेविज बिरुद्धको भ्याक्सिन लगाइएको छ ।’ उक्त कुकुर कहाँबाट आएको हो भन्ने बारेमा कसैलाई जानकारी नभएको उहाँले बताउनुभयो ।
कुकुरले टोकेको भनिएका व्यक्ति भने उपचारका लागि गोरखा अस्पतालमा गएको जानकारी आफुहरुले पाएको थापाले जानकारी दिनुभयो । भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्रबाट डा.शर्मिला कुमाल नेतृत्वको टोली सो क्षेत्रमा पुगेर पशुबस्तु र कुकुरलाई एन्टिरेबिज बिरुद्धको भ्याक्सिन दिइएको उहाँले बताउनुभयो ।
संक्रमण नभएका पशुबस्तुलाई एक डोजमात्र भ्याक्सिन लगाउने भएपनि टोकाईबाट चोट लागेका पशुबस्तुलाई ३ दिन र ७ दिनमा अर्को डोजको भ्याक्सिन लगाउने थापाले बताउनुभयो । उक्त कुकरलाई नियन्त्रणमा लिन नसकिएको बताउनुभयो । गाउँपालिकाले जोखिम रहनसक्ने भएकाले सर्तक अबस्था रहन स्थानीयलाई अनुरोध समेत गरेको उहाँले जानकारी दिनुभयो ।