Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गण्डकी गाउँपालिकाको प्रत्येक वडामा ५० लाखको योजना अनिवार्य


1.5K
Shares

गण्डकी गाउँपालिकाको प्रत्येक वडामा ५० लाखको योजना अनिवार्य

गोरखा, १८ माघ । गण्डकी गाउँपालिकाले साना योजनामा बजेट घटाउन प्रत्येक वडाले कम्तीमा ५० लाख रुपैयाँको एउटा योजना अनिवार्य छनोट गर्नुपर्ने नियम बनाएको छ । साना–साना योजनामा भएको खर्च परिणाममुखी नभएकाले ठूला योजना छनोट अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले बताउनुभयो ।

‘गत सालको बजेट किताब हेर्दा पालिकामा ७ सय ३६ योजना रहेछन्, त्यसमा पनि अधिकांश टुक्रे,’ उहाँले भन्नुभयो , ‘अहिले हामीले घटाएर ४ सय ८६ वटा योजना मात्र बनाएका छौ ।’ धेरै योजनामा रकम छुट्याउँदा त्यस्ता काम दिगो र परिणाममुखी नहुने भएकाले साना साना योजना घटाउन थालिएको उहाँले बताउनुभयो ।

गण्डकी गाउँपालिकामा ८ वटा वडा छ । यस वर्ष प्रत्येक वडालाई एक करोड १० देखि ३५ लाख रुपैयाँसम्म रकम विनियोजन गरिएको छ । उक्त रकममध्ये कम्तीमा एउटा योजना ५० लाख रुपैयाँको योजनामा खर्च गर्नुपर्नेछ । ‘एक वडा एक गौरवको योजना’ घोषणा गरेर ५० लाख रुपैयाँको एउटा योजना अनिवार्य गरिएको पालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

‘२०७९र८० को बजेट सभाबाट निर्णय ग¥यौं, त्यही निर्णय अनुसार अहिले सबै वडामा ५० लाखको योजना छनोट भएर काम अघि बढेको छ,’ उहाँले भन्नुभयो । सबै वडाले सडक स्तरोन्नतिको योजनामा ५० लाख छुट्याएको छौं ।

वडा नं १ मा मकैसिं मूल सडक स्तरोन्नतीको काम अघि बढेको छ भने वडा नं २ मा दलभञ्ज्याङ कुवापानी पातीस्वाँरा हुदै सादी खोला नाला र सडक स्तरोन्नति सुरु भएको छ । वडा नं ३ मा भलायडाँडा पुण्यगाउँ आमडाँडा ठुलोफाँट सडक स्तरोन्नतिको काम भइरहेको छ ।

वडा नं ४ ले गैरीचौतारादेखि पौवा हुँदै पुरानो गाउँसम्म नाली एवं सडक स्तरोन्नति, वडा नं ५ ले छोटेचार रामपुर सानो दर्बुङ लाङ्घालीचोक सडक स्तरोन्नति र वडा नं ६ ले पल्लोटार गणई देवीथान हुदै कोराक सडक स्तरोन्नतिका योजना छनोट गरेर रकम विनियोजन गरेको पालिकाले जनाएको छ ।

वडा नं ७ ले जलविरे खोला ज्यामिरेघाट कौदी सडक र वडा नं ८ ले धवादीघाटबाट वडा कार्यालय हुदै तेर्से कोराकगाउँ बेनिगाउँ सडक स्तरोन्नतिको योजनामा बजेट बिनियोजन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology