तनहुँ २९, फागनु । तनहुँमा चितुवाको आक्रमणबाट फेरी एक बालक घाइते भएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा स्थित कुमालटारी भन्ने ठाउँमा बुधबार साँझ करिब ८: १५ बजेको समयमा चितुवाले आक्रमण गर्दा स्थानीय मिरा नेपालीका ९ वर्षीय छोरा अनुप नेपाली घाइते भएका हुन् ।
घर नजिकै छिमेकीको घरमा भएको विवाहको कार्यक्रम हेरेर आमा र अन्य बालबालिकासंगै घर तर्फ फर्कदै गर्दा चितुवाले एक्कासी बालक नेपाली माथी आक्रमण गरेर घाइते बनाएको हो । आमासंगै भएकाले तत्कालै हारगुहार गरी चितुवाबाट बालकलाई छुटाउन सफल भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
चितुवाले आक्रमण गर्दा बालकको घाँटीमा गम्भिर चोट लागेको छ । घाइते बालकको डुम्रे स्थित मोती मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको श्रेष्ठले जानकारी दिनुभयो ।