Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आन्तरिक स्वमुल्यांकनमा बारपाक सुलिकोट उत्कृष्ट : ७४.५ अंकका साथ भिमसेनकोे राम्रो सुधार


3.3K
Shares

आन्तरिक स्वमुल्यांकनमा बारपाक सुलिकोट उत्कृष्ट : ७४.५ अंकका साथ भिमसेनकोे राम्रो सुधार

गोरखा, ९ माघ । गोरखाको वारपाक सुलिकोट गाऊँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाभरमै उत्कृष्ट बनेकोे छ । पालिकाहरुले १० वटा मुख्य सूचकका आधारमा आर्थिक वर्ष २०७८÷७९ मा आफूले गरेका कामको आफैंले मुल्याङ्कन गरेका हुन् । जसमा वारपाक सुलिकोटले जिल्लाका ११ पालिकामध्ये सबैभन्दा धेरै ८४ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा भने सो पालिकाले ७१ दशमलव २५ प्रतिशत अंक मात्रै प्राप्त गरेको थियो । यस्तै गत आर्थिक वर्षको मूल्याङ्कनमा ८३ दशमलव ७५ प्रतिशत अंक पाउँदै शहिद लखन गाऊँपालिका जिल्लाका पालिकाहरुमा दोस्रो भएको छ । शहिद लखनले अघिल्लो आर्थिक वर्ष ६६ दशमलव ७५ प्रतिशत मात्रै अंक पाएको थियो । सरानचोक गाऊँपालिकाले पनि संस्थागत क्षमतामा सुधार गर्दै आर्थिक वर्ष २०७७÷७८ मा ७३ दशमलव ७५ प्रतिशत अंक पाएको सिरानचोकको गत आर्थिक वर्षको अंक भने ७९ दशमलव ५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷ ७८ मा ६० दशमलव २५ प्रतिशत अंक पाएको भिमसेन थापा गाऊँपालिकाको गत आर्थिक वर्षको अंक भने ७४ दशमलव ५ प्रतिशत रहेको छ । गोरखा नगरपालिकाको संस्थागत क्षमता भने निकै खस्किएको देखिएको छ ।

आर्थिक वर्ष २०७७ ÷ ७८ मा ८८ दशमलव ५ प्रतिशत अंक पाउँदै प्रदेशभरमै उत्कृष्ट भएको गोरखा नगरपालिकाको गत आर्थिक वर्षको अंक भने ६७ दशमलव ५ प्रतिशतमा झरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गण्डकी गाऊँपालिकाले ६३ दशमलव ५, आरुघाट गाऊँपालिकाले ६१, पालुङटार नगरपालिका र अजिरकोट गाऊँपालिकाले समान ५० दशमलव २५ प्रतिशत र धार्चे गाऊँपालिकाले ४३ दशमलव ५ प्रतिशत अंक पाएका छन् । चुमनुब्री गाऊँपालिकाको विवरण भने प्राप्त हुन बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

चुमनुब्रीले आर्थिक वर्ष २०७७ ÷७८ मा ५४ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको थियो । पालिकाहरुको शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना ब्यवस्थापन, वित्तीय एवम् आर्थिक ब्यवस्थापन, सामाजिक समावेशीकरण जस्ता सूचकलाई मुल्याङ्कनको आधार मानिएको हो । यस्तै सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् ब्यवस्थापन र सहकार्य तथा समन्वय सहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मुल्याङ्कन गरेका हुन् । तर यसमा अंकभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रुपमा समावेश गर्नुपर्ने ब्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार स्वमूल्याङ्कनको काम प्रत्येक आर्थिक वर्षको पुष मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको तथ्याङ्कलाई आधार मानेर सबै सूचकको अङ्क गणना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology