गोरखा, ७ माघ । गोरखामा करिब साढे ३ करोड रुपैयाको लागतमा शहीद प्रतिष्ठान नेपालको निर्माण हुने भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ स्थित पाटेचौरमा करिब ९ आना १ पैसा १ दाम क्षेत्रफलमा शहीद प्रतिष्ठानको भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि लालप्रसाद श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी काम सुरु गरिएको भवन निर्माण व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिनुभयो ।
भवन निर्माणका गर्न चालु आर्थिक बर्षमा गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयबाट २० लाख रुपैया बजेट बिनियोजन भएको उहाँले बताउनुभयो । ‘सामाजिक बिकास मन्त्रालयबाट बिनियोजित रकमले काम थाल्न सजिलो भएको छ, संयोजक थापामगरले भन्नुभयो, ‘निर्माण सम्पन हुँदासम्म करिब साढे ३ करोडभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ ।’
‘नेकपा माओवादी केन्द्र गोरखाले प्रतिष्ठानको नाममा निशुल्क जग्गा उपलब्ध गराएसंगै अहिले बिभिन्न क्षेत्रबाट सहयोग लिएर जग्गा सम्याउने काम भइरहेको छ, उहाँले भन्नुभयो, ‘बिनियोजित बजेटबाट पुगेजति काम हुन्छ , आवश्यक रकमका लागि सवै क्षेत्रसंग सहयोग जुटाएर भएपनि भवन निर्माण सम्पन्न गर्ने योजनामा छौ ।’ भवन निर्माणका लागि पार्टीबाट निर्वाचित जिल्ला भित्रका सवै जनप्रतिनिधिसंग कम्तिमा एक महिनाको सेवा सुबिधा स्वेच्छिक हिसावले सहयोगका रुपमा संकलन गर्ने संयोजक थापामगरले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला स्थित पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला समव्वय समितिका सदस्य, पालिका,वडा समितिका पदाधिकारी तथा सदस्य एवम पार्टी सदस्यहरुबाट समेत आर्थिक सहयोग संकलन गर्ने बताउनुभयो । त्यस बाहेक अन्य शुभेच्छुकहरुबाट समेत आर्थिक सहयोग संकलन गरेर शहीद प्रतिष्ठान नेपालको भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाई छ । आर्थिक स्रोत जुटाउन थापामगरको संयोजकत्वमा अंकुर तिमल्सिना (आयाम) धना तमु, धुव्रप्रसाद भट्ट र रामहरी के.सी सदस्य रहनु भएको ५ सदस्सीय समिति समेत गठन भएको हो ।
जनयुद्ध र जनआन्दोलका क्रममा शहीद भएकाहरुको सम्झनामा गोरखामा शहीद प्रतिष्ठान भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । शहीद प्रतिष्ठान भवन निर्माण गर्न नेपाल कम्यनिष्ट पार्टी माओवादी केन्द्रले पाटेचौरमा पार्टीको नाममा रहेको ९ आना १ पैसा १ दाम जग्गा प्रतिष्ठानलाई निशुल्क उपलब्ध गराएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति गोरखाका संयोजक बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।