काठमाडौँ, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुजन्य खाद्यपदार्थ र वनस्पतिजन्य खाद्यपदार्थको महत्त्वबारे चर्चा गराउनु महत्त्वपूर्ण भएको बताउनुभएको छ।
नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा शनिबार दशरथ रंगशालामा सम्पन्न ुराइट टु प्रोटिन हाफ म्याराथनु प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले पोषणको महत्त्वबारे जनचेतना फैलाउने कार्यमा नेपाल सरकारका पहल पर्याप्त नभएको बताउनुभयो । अबका दिनका पशुजन्य खाद्यपदार्थ र वनस्पतिजन्य खाद्यपदार्थमा देशलाई आत्मनिर्भर बनाउन सरकार लाग्ने उहाँले बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ सुरुवात गर्ने तयारी गरेको प्रधानमन्त्री दाहालले जानकारी गराउनुभयो ।
नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा शुक्रबार सम्पन्न ुराइट टु प्रोटिन हाफ म्याराथनु प्रतियोगितामा विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । दशरथ रंगशालाबाट सुरु भएको म्याराथन दौडमा ५ हजारभन्दा बढी प्रतियोगीको सहभागिता रहेको भेटेनरी एशोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
खुला हाफ म्याराथन महिला र पुरुष, पुरुष १० किमी खुला, महिला ५ किमी खुला, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी पुरुष र ३ किमी महिला तथा फरक क्षमता भएका महिला र पुरुषहरूका लागि ह्वीलचेयर म्याराथन दौड प्रतियोगिता गराइएको थियो ।
प्रतियोगितामा सबैभन्दा कम उमेरका सहभागीमा ६ वर्ष र सबैभन्दा बढी उमेरमा ७२ वर्षका रहेका थिए ।
प्रतियोगिताको कूल पुरस्कार रकम १४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ रहेकामा हाफ म्याराथनको उपाधि जित्नेले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेका छन् भने पाँचौँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।