गोरखा, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा र धादिङको सिमानमा बन्न लागेको बुढीगण्डकी जलबिद्युत आयोजना आफ्नो बिकासको प्राथामिकता रहेको बताउनु भएको छ । कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले प्रचण्डले आज यस्तो बताउनु भएको छ ।
गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद समेत रहनु भएका उहाँले राष्ट्रिय गौरवको आयोजना निर्माणको काम तत्काल सुरु गनुृपर्ने पक्षमा आफु रहेको बताउनु भएको हो । प्रधानमन्त्री प्रचण्डले ४६ बर्षपछि गोरखाबाट निर्वाचित भएर आफु प्रधानमन्त्री बनेको भन्दै बुढीगण्डकी आयोजना, गोरखाको आरूघाट, बेनीघाट लार्के सडक निर्माण र गोरखाको पर्यटनको विकास पनि आफ्नो प्राथमिकतामा परेको बताउनुभयो । ‘
म त्यहीँको जनप्रतिनिधि हुँ, उहाँले भन्नुभयो, ‘मेरो जिम्मेवारी बढेको छ ।’’ पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भुवन दाइको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको समेत बताउनुभयो । ‘झन्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको छ । पुराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयताको महसुस भएको छ, उहाँले भन्नुभयो, ‘परिवारका सदस्यहरू पनि हुनुहुन्छ । मलाई युवा जीवनको स्मृति भइरहेको छ ।’’
कार्यक्रममा उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री चीनकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो ।