गोरखा, २७ पुस । एघारौं ‘म्यान अफ द गोरखा दौड’ को उपाधी नेपाली सेनाका गजेन्द्र राईले जित्नु भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको ११ औं गोरखा महोत्सवको अबसरमा आयोजित प्रतियोगितामा नेपाली सेनाको त्रिभूवन आर्मी क्लबका गजेन्द्र राईले उपाधी जित्नु भएको हो ।
गोरखा नगरपालिकाको वडा नम्बर ५ स्थित ऐतिहासिक पस्लाङ चौतारबाट सुरु भएको दौड गोरखा दरबार परिषरमा पुगेर समापन भएको थियो । कुल ८ किलो मिटरको निर्धारित दुरी राईले ३० मिनेट ०७ सेकेण्डमा पुरा गर्नुभएको हो । प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मोहनदेव जोशी र टंक कार्कीले क्रमस दोस्रो र तेस्रो स्थान हात पार्न सफल हुनुभएको प्रतियोगिताका संयोजक चन्दनबाबु खत्रीले जानकारी दिनुभयो । जोशीले निर्धारित दुरी ३० मिनेट ५७ सेकेण्ड र कार्कीले निर्धारित दुरी ३१ मिनेट १४ सेकेण्डमा पार गरेका थिए ।
प्रतियोगितामा १६ जना धावकहरुको सहभागिता रहेको थियो । उपाधी बिजेता राईलाई गोरखा दरवार परिषरमा द्रब्यशाहको पोशाकले सजाएर गोरखा बजार परिक्रमा गराइएको थियो । पहिलो, दोस्रो र तेस्रो हुने धावनहरुलाई क्रमस ३० हजार, २० हजार, १० हजार नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।