गोरखा, २६ पुस । नेपाल कम्युनिष्ट पाटी क्रान्तिकारी माओवादी गोरखाले सरकारका पछिल्ला केही कदमहरु राजतन्त्र पुर्नस्थापना गर्ने प्रतिगामी कदमको सूरुवात भएको दावी गरेको छ । क्रान्तिकारी माओवादीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै गोरखा नगरपालिकाले ठूलो आँगनमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरी राष्ट्र निर्माता सलामी अर्पण गर्ने कार्यको थालनी गर्नु र संघिय सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिनुले राजतन्त्र पुर्नस्थापना गर्ने प्रतिगामी कदमको सुरुवाती संकेत भएको दावी गरेको हो ।
जिल्ला सेक्रेटरी अविरलद्धारा हस्ताक्षरित बिज्ञप्तिमा ठूलो आँगनमा गोरखा नगरपालिका र सेनाले इतिहासलाई जर्गेना तथा पर्यटन प्रर्वद्धनको हवला दिएर राजाको नवनिर्मित पूर्णकदको शालिक अनावरण गर्न लागिएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । बिज्ञप्तिमा यस्ता कदमहरू राजतन्त्रलाई पुर्नस्थापना गर्ने प्रतिगामी कदम भएको भन्दै यसले जनयुद्ध र जनआन्दोलनहरुमा जनताले बगाएका रगत,े बलिदानी, र शहिद तथा घाइते वेपत्ता योद्धाहरू माथिको घोर अपमान भएको ठहर गरेको छ ।
महान् दश वर्षे जनयुद्ध, जनआन्दोलन र विभिन्न खाले मुक्ति संघषहरुको बलमा नेपालमा सामन्ती राजतन्त्र र पुरानो राज्य व्यवस्था ढलेर प्रगतिशिल संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको भन्दै क्रान्तिकारी माओवादीले उपलब्धीहरुको रक्षाका लागि जनविद्रोहको तयारीमा लाग्न गोरखाली जनसमुदायलाई अपिल समेत गरेको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा स्थानीय र प्रदेश तथा संघको निर्वाचन पश्चात, राजावादी, राष्ट्रघाती र पश्चगामी शक्तिहरु बलियो बन्दै गएको क्रान्तिकारी माओवादीले जारी गरेको बिज्ञप्ति मार्फत ठहर गरेको छ ।