पोखरा, २३ पुष । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि सङ्कटा फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको निकै रोमाञ्चक फाइनल खेलमा सङ्कटाले भुटनीज युथमाथि ३—२ गोल अन्तरले जित निकालेको हो ।
खेल निर्धारित समय २—२ गोलको बराबरीमा सकिएको थियो । अतिरक्त समयमा सङ्कटाले गोल गर्दै खेलमा बाजी मारेको हो । खेलको सुरुवातमै २—० गोलको अग्रता बनाएको सङ्कटाले पहिलो हाफमै उक्त अग्रता जोगाउन सकेन । खेलको ८औँ मिनेटमा सुरज ज्यु ठकुरीले सङ्कटालाई अग्रता दिलाएका थिए । सुरजले निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पूजन थापा मगरले बचाए पनि रिबाउन्डमा गोल गरेका हुन् ।
यस्तै खेलको ३५औँ मिनेटमा मेसुके ओलोमोउले संकटाको अग्रता दोब्बर बनाउनुभयो । मेसुकेले सुनिल बलको कर्नरलाई गोलमा परिणत गरेका हुन् । २—० गोलले पछि परेको खेलमा ३७औँ भुटनिज युथका मिनेटमा रिनी सान्तिलोनले गोल गरेपछि खेल २—१ गोलको स्थितमा आएको थियो । यस्तै इन्जुरी समयमा विल ग्रिफिथले भुटनिज युथलाई २—२ को बराबरीमा ल्याउनुभयो। उहाँले धिरज थजालीको फ्रिकिकमा बनेको मुभमा गोल गरेका थिए ।
त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै सङ्कटालाई ३—२ को रोमाञ्चक जित दिलाउनुभयो। सुनिलले मेसुके ओलोमोउको पासलाई गोलमा परिणत गरेका थिए । उक्त जितसँगै सङ्कटाले दोस्रो पटक आहा राराको उपाधि जितेको हो । यसअघि सङ्कटाले २०७७ सालमा सो उपाधि जितेको थियो ।