काठमाडौं, १८ पुस । सिन्धुपाल्चोकमा एक जनामाथि खुकुरी प्रहार गरी हत्या भएको छ । हत्या आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिनुभयो।
पाँचपोखरी थाङपाल गाउँपालिका(६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको हत्या भएको हो । उनीमाथि गत शनिबार खुकुरी प्रहार भएको थियो । सोही ठाउँका छिमेकी ३० वर्षीय राजाराम रायमाझीले उनीसहित तीन जनामाथि खुकुरी प्रहार गरेका थिए। सोही ठाउँका इश्वरी पौडेल र गंगा पौडेल घाइते छन्।
खुकुरी प्रहारपछि गम्भीर घाइते भएका मुक्तिनाथको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। उनको काठमाडौंस्थित अन्नपूर्ण अस्पतालमा उपचार हुँदै थियो । प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा रायमाझीलाई पक्राउ गरेको छ ।
‘रायमाझीले मापसे गर्ने गरेको देखियो। त्यसकारण मापसे गरी नआइज भनेका कारणले रिसमा हत्या गरेको देखिन्छ,’उहाँले भन्नुभयो ।उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।