गोरखा, १६ पुष । गोरखाको शहीद लखन गाउँपालिकाले पालिका भित्र विद्युतिय प्रणालीबाट घरनक्सा पास गर्ने भएको छ । गाउँपालिका चालु आर्थिक बर्षदेखि कार्यान्व्यन हुनेगरी विद्युतिय घर नक्सापास प्रणाली लागू गर्न लागेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।
विद्युतिय प्रणाली लागू गर्नका लागि प्रक्रिया समेत सुरु गरेको उहाँको भनाई छ । ‘यो प्रणाली लागू गर्न गाउँपालिकाले परामर्श दाताहरुको छनोट गर्न लागेको छ, अध्यक्ष थापामगरले भन्नुभयो, ‘परामर्श दाता छान्नका लागि सूचना समेत आवहन गरिसकेकाले अब छिट्टै कार्यान्व्यन प्रक्रियामा जान्छौ ।’
उहाँले यही पुस २० गतेभित्र परामर्श दाताहरुको दरखास्त संकलन गरिने र उत्कृष्ठ परामर्श दाताको छनोट गरी काम अघि बढाउने बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटमा पालिकालाई विद्युतिय घर नक्सा पास प्रणालीमा लैजान आवश्यक बजेट समेत बिनियोजन गरेको छ ।