काठमाण्डौ । चीनले नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन तयार रहेको जनाकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यस्तो बताउनु भएको हो ।
कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीका सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री भट्टराईको सचिवालयले जनाकारी दिएको छ । राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पूरा सहयोग रहने बताउनुभयो ।
उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सतर्कता र तयारीको प्रशंसासमेत गर्नुभएको थियो । चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन चीन तयार रहेको उहाँको भनाइ थियो ।
भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवका बारेमा पनि जानकारी दिनुभयो । मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुसी समेत व्यक्त गर्नुभएको थियो । उहाँले कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरीरहेको जानकारी दिनुभयो ।