गोरखा, १३ पुस । जिल्ला प्रहरी कार्यालय गोरखाको कार्यालय परिषर भित्र दुई पक्ष बिच आज कुटाकुट भएको छ । यातायात सञ्चालनका बारेमा छलफल गर्न प्रहरी कार्यालयमा पुगेका दुई समुह बिच बिबाद हुँदा प्रहरी कार्यालय परिषर भित्र कुटाकुट भएको हो । कुटपिटबाट गोरखा नगरपालिका–६ कालिमाटी निवासी दिपक शाही सामान्य घाइते भएका छन् ।
यातायात कार्यालयमा दर्ता भएर सञ्चालनमा आएको गोरखा–मनकामना यातायात सेवा प्रा.लिका ट्याक्सी ब्यवसायी र केही समय अगाडी मात्र जिल्लामा सञ्चालनमा आएको माई स्मार्ट साथी विच यातायात सञ्चालनको बिषयमा विवाद भएपछि दई समुह बिच कुटपिट भएको हो । छलफल गर्न प्रहरी कार्यालयमा पुगेका मध्ये ट्याक्सी ब्यवसायीहरुले स्मार्ट साथीका ड्राईभर शाहीलाई प्रहरी कार्यालय हाता भित्रै कुटपिट गरेका थिए ।
गोरखा–मनकामना यातायात सेवा प्रालिका अध्यक्ष सुरेन लामिछानेले प्रहरी हाताभित्र कुटपिट भएकोमा दुःख ब्यक्त गर्दै स्मार्ट साथीले जिल्लामा गरिरहेको गतिविधी अबैध भएको दावी गर्नुभयो । लामिछानेका अनुसार गोरखा नगरपालिकाको एउटा वडामा ढुवानी गर्नका लागि भनेर लिएको अनुमतीले चोक चोकबाट पठाओ प्रकृतीको काम गरिहेकाले ब्यवसायीहरु बिरोधमा उत्रिएका हुन् । यसअघि पनि विवाद हुँदा पठाओ प्रकृतीको काम बन्द गर्ने सहमती भएको थियो ।
तर बुधबार बिहान सोही प्रकृतीले मानिस बोकेर जादैँ गर्दा गोरखा बसपार्कमा ट्याक्सी ब्यवसायीले शाहीलाई समातेपछि विवाद भएको र बिबाद समाधानका लागि आज बिहान दुवै पक्ष छलफलका लागि प्रहरी कार्यालयमा पुगेको थिए । माई स्मार्ट साथीले गोरखामा केही महिना अघिदेखि पठाओ प्रकृतीको सेवा दिदै आएको र त्यसमा जिल्ला भित्रका एक सयवटा मोटरसाइकल संलग्न रहेका छन् ।
घटनापछि प्रहरी कुटपिटमा संलग्न भएको भन्दै २ जनालाई प्रहरीले पक्राउ गरिसकेको र केही मानिसको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक हिमनाथ घिमिरले जानकारी दिनुभयो ।