गोरखा, ८ पुष । शहिदलखन गाउँपालिकाले चार वटा विद्येयक पास गर्दै बाह्रौँ अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद कृष्ण धितालको प्रमुख आतिथ्यतामा बाह्रौँ अधिवेशन सम्पन्न भएको हो ।
बिहिबार भएको हिउँदे सभा तथा अधिवेशनले गाउँसभामा न्यायिक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ सहित चार वटा विधेयक पास गरेको हो ।
त्यस्तै संस्था दर्ता गर्न बनेको विधेयक २०७९, मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमन गर्ने ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ र गाउँसभा वैठक सञ्चालन कार्यविधि २०७९ गाउँसभामा सर्वसम्मतले पास भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिनुभयो ।
गाउँसभामा राजस्व परामर्श र न्यायिक समितिको वार्षिक प्रतिवेदन समिताकी संयोजक इन्दिरा तिवारीले प्रस्तुत गर्नु भएको थियो । उहाँका अनुसार वार्षिक प्रगति प्रतिवेदन पूर्वाधार विकास समितिका संयोजक शरण श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
अहिले पालिकाभरि राष्ट्रिय परिचयपत्र बनाउने अभियान संचालन भइरहेका छ । त्यसैले पालिका भित्रका जनप्रतिनिधि र सिमित कर्मचारी मात्र उपस्थिति भई गाउँसभा सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत मगरले बताउनुभयो ।