गोरखा २७, फागुन – गोरखाको बारपाक सुलिकोट गाँउपालिका–४ छहरे खोला स्थित सिम्बमा आज बिहान बलेरो जीप दुर्घटना हुदा ८ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकाम तर्फ यात्रु लिएर आउदै गरेको बा १५ च १०१६ नम्बर बलेरो जीप उकालोमा पछाडी हटेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय सन्तबहादुर गुरुङले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएकाहरु मध्ये ४ जनाको अबस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइतेहरुको टाउकोमा चोट लागेको गुरुङले जानकारी दिनुभयो । जीप सडकबाट झण्डै ५० मिटर पछाडी खसेको उहाँले बताउनुभयो ।
‘घाइतेहरु मध्ये २ जनाको दात समेत झरेको अबस्था छ, उहाँले भन्नुभयो, घटना लगत्तै प्रहरी समेत घटना स्थलमा आइपुगी सकेको छ ।’ दुर्घटनामा घाइते भएका ३ जना पुरुष र ५ जना महिला रहेको जनाइएको छ ।
जीपका चालक भने सकुसल रहेको उहाँले बताउनुभयो । घाइतेहरुको हेलिकप्टरबाट उद्धारको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।