काठमाडौं,२४ मंसिर । नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने सांसदहरूको नामावली टुंगो लगाएको छ । शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूको नाम टुंगो लगाएको कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिनुभयो ।
शनिबारै सो नामावली निर्वाचन आयोगमा बुझाइएको छ । शुक्रबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सैद्धान्तिक छलफल गरी समानुपातिकतर्फको नामावली टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।
यही मंसिर ४ गते भएको निर्वाचनबाट माओवादी केन्द्र प्रतिनिधिसभामा तेस्रो दल बनेको छ । माओवादी केन्द्रले समानुपातिकबाट प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ २९ गरी ४३ सिट जितेको छ ।
पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि निर्वाचन आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली क्लस्टर मिलाएर शनिबार अपराह्नसम्म बुझाउन समयसीमा तोकेको थियो ।
