एजेन्सी। सुडानको राजधानी खारतोममा सोमबार प्रधानमन्त्रीलाई लक्षित गरी भएको बम बिस्पोटबाट त्यहाँका प्रधानमन्त्री जोगिन सफल हुनु भएको छ ।
प्रधानमन्त्री अबडल्ला हाम्डोकको परिवारले उहाँको सवारी लक्षित बम विस्फोटबाट जोगिएको जनाएको छ। अहिलेसम्म कसैले पनि उक्त विस्फोटको जिम्मेवारी लिएको छैन।
हाम्डोक गत अगष्टमा प्रधानमन्त्री चुनिनु भएको थियो । अप्रिलमा भएको लोकतन्त्र पक्षधरहरूको आन्दोलनले त्यहाँको सेनालाई राष्ट्रपति ओमार अल–बसिरलाई हटाउन बाध्य पारेपछि गठन भएको नागरिक नेतृत्वको सरकारमा हाम्डोकलाई प्रधानमन्त्री चुनिएको थियो।
महीनाभरको सम्झौतापछि सुडानको सेना र लोकतन्त्र पक्षधरहरू शक्ति बाँडफाँडाको सहमतिमा पुगेका थिए। उक्त सहमतिअनुसार सेना र नागरिक मिश्रित ११ सदस्यीय सर्वोच्च परिषद् गठन भएको छ। उक्त परिषद्ले अर्को तीन वर्ष शासन गर्ने तय गरिएको छ।
अहिले पनि वास्तविक शासन सैनिक अधिकारीहरूले चलाइरहेका छन्। उनीहरू नागरिक नेतृत्वको प्रशासनलाई शक्ति हस्तान्तरण गर्न तयार देखिन्छन्।
हाम्डोकले पनि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) सँग मिलेर सन् २००० को दशकमा डार्फरमा भएको द्वन्द्वका युद्ध अपराधीहरूलाई सजाय दिलाउने वाचा गर्नुभएको छ ।
संक्रमणकालीन अधिकारीहरूले यही फेब्रुअरीमा अल–बसिरलाई आईसीसीसमक्ष बुझाउन सहमत भएका थिए।
सुडानको संक्रमणकालीन सरकार विद्रोही समूहसँगको युद्ध अन्त्य गर्ने दबाबमा छ। ऊ देशको क्षतिग्रस्त अर्थतन्त्र उकास्न, विदेशी सहयोग भित्र्याउन र लोकतन्त्र प्रवर्द्धन गर्न लागिपरेको छ।
यद्यपि अल–बसिरको बहिर्गमनको एक वर्षमा सुडानले चरम आर्थिक संकट व्यहोरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार मुद्रास्फिति ६० प्रतिशत र बेरोजगारी दर २२.१ प्रतिशत पुगेको छ। त्यहाँको सरकारले जनसंखयाको आधाभन्दा बढी हिस्सा ओगटेका युवामध्ये ३० प्रतिशत बेरोजगार रहेको बताएको छ।