गोरखा, ७ मङ्सिर : प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका राजेन्द्र बजगाई भारी मतान्तरले बिजयी हुनुभएको छ । आज राती सम्पन्न भएको मतगणनामा बजगाईले ३३ हजार ४ सय २८ मत ल्याएर बिजयी हुनुभएको साहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत प्राप्त गर्नुभएको छ । बजगाईले एमालेका बस्नेतलाई १६ हजार ६ सय ४३ मतको फराकिलो अन्तरले हराउनु भएको हो ।
बिजयी बजगाई बामलोकतान्त्रिक गठबन्धनबाट उमेद्वार बन्नुभएको थियो । बि.स २०७४ को प्रदेशसभाको निर्वाचनमा भने एमालेका बस्नेतसंग बजगाई पराजित हुनुभएको थियो । उहाँले यो पटक अघिल्लो हारको बदला लिन सफल हुनुभएको छ । त्यस्तै स्वतन्त्र पार्टीले ४ हजार ८ सय ९२ मत प्राप्त गरेको छ ।