Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

स्याङ्जा–२ मा अझै सुरू हुन सकेन मतगणना


3.1K
Shares

स्याङ्जा–२ मा अझै सुरू हुन सकेन मतगणना

पोखरा, ६ मंसिर  । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना देशका अधिकांश ठाउँमा जारी छ। केही क्षेत्रका मतपरिणाम सार्वजनिक भइसकेका छन्। उम्मेदवार र दलका नेता कार्यकर्ता मतपरिणाम पर्खिरहेका छन्।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र नेकपा एमालेका सचिव पद्मा अर्याल लडेको स्याङ्जा–२ मा भने अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन ।आइतबार मतदान सकिएपछि कांग्रेस कार्यकर्ताले ‘बुथ कब्जा’ गरेको भन्दै एमालेले मतगणना हुन दिएको छैन।

एमालेले लगाएको बुथ कब्जाको आरोपलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकराज गुरूङसहित अन्य साना दल र स्वतन्त्र उम्मेदवारले पनि समर्थन जनाएका छन्।

स्याङ्जा–२ मा पर्ने चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि, वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र सोही वडाको दिनदयाली आधारभूत माविको बुथ कब्जा भएको एमालेको आरोप छ।

यी चारवटा बुथ कब्जा गरेर ९८ प्रतिशतसम्म मतदान गरेको एमाले उम्मेदवार पद्मा अर्यालले आरोप लगाउनुभयो।

‘यतिधेरै मतदान विश्वमा कहीँ पनि हुँदैन,’उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले पनि के रहेछ भनेर हेर्नुपर्छ।’

मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको भन्दै एमाले सचिवसमेत रहेकी अर्यालले फेरि मतदान हुनुपर्ने माग राखिन्।

‘जनताका हातले खसालेको मत हामी स्वीकार्छौं,’ उनले भनिन्, ‘बुथ कब्जा गरेर अर्कैले खसालेको मत लोकतन्त्रमा स्वीकार्य हुँदैन।’

कांग्रेस कार्यकर्ताले यी चारवटा मतदान केन्द्रमा बुथ कब्जा र लुटपाट मच्चाएको उनले आरोप लगाइन्।

चारवटा मतदान केन्द्रमा पुनः मतदान गर्न माग गर्दै एमालेले सोमबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्नासमेत दिएको थियो।

यता, नेपाली कांग्रेस स्याङ्जा–२ का सभापति दिलिपप्रताप खाणले जिल्लाभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले प्रश्न उठाउने ठाउँ नरहेको बताउनुभयो।

एमालेले पुन मतदान गर्न माग गरेका यी ४ मतदान केन्द्रमा एमालेकै बुथ प्रतिनिधिले समेत हस्ताक्षर गरेर मुचुल्का गरेको उहाँले भन्नुभयो।

‘शान्तिपूर्ण रूपमा निर्वाचन भएपछि अब मतगणना थाल्नुपर्छ भन्दा एमालेले उजुरी लेखेर बखेडा झिक्यो,’ खाणले भन्नुभयो, ‘पुन मतदान भनेर जनतालाई दुःख दिनुहुँदैन।’

एमालेले भनेजस्तो बुथ कब्जा कहीँ पनि नभएको भन्दै उहाँले फेरि मतदान गर्दा एमालेकै कारण जनताले दुःख पाउने बताउनुभयो।

‘चुनाव हार्ने देखेर एमालेले झूटको खेती गरेको छ,’ उहाँले बताउनुभयो, ‘जनतालाई दुःख दिने मनशाय हो भने फेरि जनताले जवाफ दिनेछन्।’

स्याङ्जा–२ मा बुथ कब्जाको आरोपमा मतगणना रोकिए पनि स्याङ्जा–१ मा भने मतगणना जारी छ। जिल्ला निर्वाचन कार्यालयले मतगणना थाल्न सर्वदलीय बैठक राखे पनि सहमति नभएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology