गोरखा, ४ मङ्सिर ः पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ अन्तरगत पालुङटार नगरपालिकाको खोप्लाङ स्थित अन्नपूर्ण माध्यामिक बिधालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । डा भट्टराईले आज बिहान करिब ११ ः३० बजे उक्त मतदान केन्द्रमा पुगेर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्नुभएको हो ।
त्यस्तै पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश पनि गोरखाको सिरानचोक गाउँपालिका स्थित परोपकार आर्दश माध्यामिक बिधालयको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । बिहान ७ बजेर ४९ मिनेटमा बरिष्ठ उपाध्यक्ष श्रेष्ठले मतदान केन्द्रमा पुगेर मत खसाल्नु भएको उहाँका स्वकिय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँ मतदानका लागि शनिबार नै गोरखा आइपुग्नु भएको थियो । त्यस्तै पूर्व स्थानीय बिकास मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव हितराज पाण्डेले पनि गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका पौवाटार स्थित विरभद्र प्राथामिक बिधालयको ख मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले उक्त मतदान केन्द्रमा सवैभन्दा पहिलो मतदाताको रुपमा मतदान गर्नुभएको हो ।
गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सांसद हरीराज अधिकारीले गण्डकी गाउँपालिकाको दर्बुङको भगवती माध्यामिक स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले पनि उक्त मतदान केन्द्रमा पहिलो मतदातामा मतदान गर्नुभएको हो ।