गोरखा, २७ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रचारप्रसारको लागी उत्तरी गोरखा पुग्नु भएको छ ।
गठबन्धनबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई र प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न उहाँ त्यहाँ पुग्नु भएको हो । अध्यक्ष प्रचण्ड आज बिहान हेलिकप्टर मार्फत छेकम्पार, सामागाउँ, सिर्दिबास पुगेका हुन् ।
उहाँले गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाई र प्रदेश सभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई रुख चिन्हमा मतदान गर्न मतदातालाई अपिल गर्नुभयो। सामागाउँको अब्यवस्थित बसोबासीलाई तत्काल लालपुर्जा दिने प्रक्रिया अघि बढाउने, लोक्पा पहिरोको अध्ययन गरी ब्यवस्थित गर्ने, राहात उद्धारलाई अझै छिटो बनाउनुपर्ने लगायतका विषयमा प्रचण्ड सहित बजगाई र न्यौपानेले पनि प्रतिवद्धता जनाउनुभयो ।
साथै छेकम्पारमा भएको चुनावी सभामा बेनिघाट, आरुघाट, सिर्दिबास, चुम्चेत, छेकम्पार, ङुईला भञ्जयाङ सम्मको उत्तर दक्षिण लोकमार्गका लागि बजेट बिनियोजन गर्ने अध्यक्ष प्रचण्डले प्रतिवद्धता गर्नुभयो । उहाँले तिब्बतसँग जोडिएको गोरखाको रुईला र ङुईला नाका खोल्न मित्र राष्ट्र चिन सँग छलफल गर्ने आस्वासन दिनुभयो ।
यस्तै गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईले पार्टी फरक भएपनि गठबन्धन दल बिकासका लागि एक ठाउँमा रहेको र पुराना सबै घाउ बिर्सिएर देशकालागि एक हुनुपर्ने बेला भएको बताउनुभयो । दुर्गमका जनताको समस्या समाधान गर्न आफु सँधै प्रतिवद्धत रहेको प्रदेश सभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेको भनाई छ । गठबन्धनलाई जिताउँदा उत्तरी गोरखाको समस्या हल गर्न अब बन्ने गठबन्धनकै सरकारले काम गर्ने आस्वासन उम्मेदवारहरुले दिएका छन् ।
उत्तरी गोरखाको समस्याका बारेमा अध्यक्ष प्रचण्ड र उम्मेदवारहरुलाई चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी गराउनु भएको थियो। साथै वडा अध्यक्ष, राजनीतिक पार्टीका प्रमुखहरुले त्यस क्षेत्रको समस्याका बारेमा ज्ञापन पत्र पेश गरेका थिए । अध्यक्ष प्रचण्ड आईतवार हेलिकप्टरबाट धार्चेको माछाखोला, शहीदलखन गाउँपालिकाको घैरुङ र बारपाकमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै हुनु हुन्छ ।