काठमाडौं, २७ कात्तिक । धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार राति ८ः२० बजे ज्वालामुखी गाउँपालिका—४ टारीमा जिप दुर्घटना भएको हो।
टारीबाट अर्याल गाउँ जाँदै गरेको ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जिपमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिनुभयो।
उहाँका अनुसार जिप आफैं अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चालकसहित ६ जना घाइतेको उपचारका लागि जिल्ला अस्पताल धादिङमा पठाइएको थियो।
घाइतेमध्ये किसन बिकबाहेक अरू सबैलाई सामान्य उपचार गरेर दस बजे राति डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। चालक समिर गदेल भने जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा छन्।