गोरखा, २६ कातिक : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले हसियाँ हथौडा र रुख बिच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताउनु भएको छ ।
चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहनु भएका उहाँले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अब रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिचकिचाउन नपर्ने बताउनु भएको हो । ‘शान्ति सम्झौतामा काग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र मैले नै हस्ताक्षर गरेपछि बृहत शान्ति सम्झौता भएको हो, उहाँले भन्नुभयो, सम्झौता पत्रमा हस्ताक्षर गर्नु भनेको त्यति बेलै मैले काग्रेसको रुख चिन्हमा र गिरिजाप्रसाद कोइरालाले माओवादी केन्द्रको हसियाँ हथौडामा भोट हालेको हो ।’
उहाँले काग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब बिकास र समृद्धि पनि काग्रेस र माओवादी केन्द्र मिलेर नै सम्भव हुने बताउनुभयो । ‘ राजनीतिक परिवर्तन भयो तर जनताले अनुभुति गर्ने गरि आर्थिक समृद्धि हुन सकेन, अध्यक्ष दाहालले भन्नुभयो, अब राजनीतिक परिवर्तनको रक्षाका आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने गठबन्धनका नेताले गहिरो अनुभूति गरिसकेका छौ ।’
उहाँले लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट भिन्न रुपमा सन्चालन गर्ने आफ्नो योजना रहेको समेत बताउनुभयो । ‘चुनाव अगाडी पुनः सन्चालन गर्ने भन्ने नै थियो, उहाँले भन्नुभयो, निर्वाचन अघि आचारसंहितामा लाग्ने भएका अब निर्वाचन सकिने बित्तिकै नयाँ ढंगबाट एयरपोर्ट प ल्याउन पहल सुरु हुन्छ ।’ अध्यक्ष दाहालले एयरपोर्ट सञ्चालनका नागरिक उड्डयन प्राधिकरणसग आफुले छलफल गरिसकेको जानकारी दिनुभयो ।