काठमाडौं, ३१ असोज । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट गएराति ३ बजे पाँच जना बालक भागेका छन्।
विभिन्न घटनामा संम्लग्न भएको आरोप प्रमाणित भई भैरहवाको बाल सुधार गृहमा रहेका उनीहरु रातको करिब ३ बजे भागेको बालसुधार गृहले जनाएको छ।
सुधार गृहका अनुसार नवलपरासीका ३ जना रूपन्देहीका र कपिलवस्तुका एकरएक जना गरी ५ जना बालक भागेको जनाएको छ।
उनीहरू गएराति भान्सा गृहमा पस्नेतर्फको झ्यालको डण्डी काटी उनीहरू भागेका थिए। ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना बालकहरू बस्दै आएका छन्।
करिब ५ वर्षअघि निर्माण भएको भैरहवास्थित उक्त बाल सुधार गृहको सुरक्षाको लागि प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ।
भागेकाहरूको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको प्रहरीले जनाएको छ।
बाल सुधार गृह स्रोतका अनुसार भागेकाहरूमध्ये ३ जना जबरजस्ती करणी मुद्दा एक जना चोरी मुद्दा र एक जना लागुऔषध मुद्दामा प्रमाणित भई सुधारका लागि त्यहाँ राखिएका थिए।