पोखरा, ३० असोज। नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका प्रहरीले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उहाँको मृत्यु भएको हो ।
सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका थापालाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका हुन् ।
लामो समय देखि अस्थायी रुपमा पोखरा १० अस्पतालचोक बस्दै आएका उनी प्याराग्लाइडिङ प्रतियोगिताहरुमा सहभागिता जनाउदै आएका थिए ।
उहाँको स्थायी घर भने गोरखा पालुङटार नगरपालिका पर्दछ । उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिशन वरियता प्राप्त खेलाडी समेत हुन् । उनको निधनसँगै आज हुने भनिएका प्याराग्लाडिङका सबै खेलहरु रुद्ध भएको आयोजकले जनाएको छ ।