दीपक श्रेष्ठ
गोरखा २१, फागुन -गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ र तनुहँको भानु नगरपालिका जोड्ने निर्माणाधिन तुरतुरे पुल निर्माणका क्रममा फर्मा भत्किदा ३ जना घाइते भएका छन् । मस्र्याङदी नदी माथी निर्माणाधिन तुरतुरे पुलमा ढलान गर्नका लागि फर्मा निर्माण गरिरहेका बेला एक्कासी भत्किएर खस्दा कामदार घाईते भएको इलाका प्रहरी कार्यालय पालुङटारका प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नम्बर ५ घर भएका अन्दाजी बर्ष २१ सुनिल थारु, बर्दिया जिल्ला जेरुवा गाउँपालिका वडा नम्बर ६ का अन्दाजी बर्ष ३५ का राजु थारु र सोही ठाउँका अन्दाजी १७ बर्षका सन्देष थारु रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये सुनिलको अबस्था गम्भीर रहेकाले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरि थप उपचारका लागि काठमाण्डौ पठाईएको चौधरीले जानकारी दिनुभयो ।

ढलान गर्नका लागि प्राबिधिक र इन्जिनियरको उपस्थिती बिना नै काम भइरहेका बेला दुर्घटना भएको हो । फर्मा बनाउदै गर्दा गोरखा तर्फको खण्डको फर्मा भत्किएको पालुङटार नगरपालिका इन्जिनियर सन्दिप मरहट्टाले जानकारी दिनुभयो । ‘सडक डिभिजन कार्यालय निर्माण गरिरहेको पुलको फर्मा कमजोर भएका कारण नै दुर्घटना भएको हो, उहाँले भन्नुभयो, हाम्रो क्षेत्रमा निर्माण भइरहेका कारणले हामीले पनि गएर अनुगमन ग¥यौ ।’
ढलानका क्रममा फिल्डमा प्राबिधिक र इन्जिनियर समेत नबसेको पाइएको छ । गौरी पावती कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएको पुल समयमा निर्माण हुन सकेको छैन । फर्मा निर्माण गर्दैमा भत्किएपछि स्थानीयबासीहरुले पुल पक्की निर्माण हुनेमा आंशका व्यक्त गरेका छन् ।