दीपक श्रेष्ठ
गोरखा २१, फागुन गोरखाको शहिद लखन गाउँपालिकाले गाउँपालिका भित्रका कृषक समुहलाई कोदो चुट्ने मेसिन बितरण गरेको छ । गाउँपालिकाले छनोटमा परेका बिभिन्न ५ वटा कृषक समुहलाई ५० प्रतिसत अनुदानमा मेसिन बितरण गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो । गाउँपालिकाले सूचना प्रकाशन गरि कार्यबिधि अनुसार समुह छनोट गरि मेसिन बितरण गरेको उहाँले बताउनुभयो ।
‘चालु आर्थिक बर्षको कृषक अनुदान सहयोग कार्यक्रम अन्र्तगत बिनियोजित बजेटबाट कृषि समुहहरुलाई कोदो कुट्ने मेसिन उपलब्ध गराइएको हो, गाउँपालिका अध्यक्ष थापामगरले भन्नुभयो, ‘बितरण गरिएका मेसिनबाट एकघण्टामा ३ मुरीसम्म कोदो झार्न सक्ने क्षमताको रहेको छ यसले ३ जना मानिसले दिनभरमा गर्ने काम एक घण्टा गर्नसक्छ ।’
गाउँपालिका भित्र कोदो खेती अत्याधिक हुने भएकाले कृषकलाई उत्पादित कोदोलाई भित्र्याउन सजिलो होस् भनेर अनुदानमा मेसिन उपलब्ध गराइएको उहाँले बताउनुभयो । कोदो टिपेसंगै त्यसलाई कुट्न बढि झन्झटिलो हुने र काम गर्ने मान्छेको पनि अभाव हुने भएकाले यो बर्ष छनोटमा परेका समुहलाई समुहगत रुपमा प्रयोग गर्ने गरि अनुदानमा मेसिन उपलब्ध गराइएको उहाँको भनाई छ ।
बितरण गरिएका मेसिन मर्मत सम्हारका लागि समुहले नै त्यसको प्रयोग बापत शुल्क उठाउने र त्यसैबाट मर्मत सम्हार गर्ने गरि व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष थापामगरले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर ४ को ताक्लुङमा रहेको नव सृजना कृषि समुह, वडा नम्बर ५ मास्कीछापमा रहेको हरियाली कृषक समुह, वडा नम्बर ६ रानीस्वाँरा स्थित लालीगुँरास कृषक समुहलाई अनुदानमा मेसिन उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै वडा नम्बर ७ मकैपुर बुंकोटमा रहेको बनकाली कृषक समुह र वडा नम्बर ८ गैरी चौतारामा रहेको सृजनशिल कृषक समुहलाई पनि ५० प्रतिसत अनुदानमा मेसिन बितरण गराइएको उहाँले जानकारी दिनुभयो ।गाउँपालिकाले कार्यबिधि अनुदान कोदोको पकेट क्षेत्र, संक्रिय समुह, महिला जनजाती समुह लगायतका आधारमा मेसिन बितरणका लागि कृषक समह छनोट गरेको शहिद लखन गाउँपालिका कृषि शाखाका प्रमुख ऋषि रोकाले जानकारी दिनुभयो ।
कुल २७ वटा निवदेन परेको थियो, परेका मध्ये कार्यबिधि भित्र परेकालाई छनोट गरिएको हो, उहाँले भन्नुभयो, सकेसम्म एउटा वडा भित्र एउटा मात्र पर्ने गरि बितरण गरेका छौ ।’ चालु आर्थिक बर्षमा बजेट कम भएकाले माग अनुसारको मेसिन बितरण गर्न नसकिएको रोकाले बताउनुभयो । अनुदानमा बितरण गरिएको मेसिनले कोदो चुट्ने, भुस बत्ताउने र कोदो फल्ने काम गर्ने शाखा प्रमुख रोकाको भनाई छ ।
‘नयाँ खालको प्रबिधि भएकाले कृषकहरुबाट अत्याधिक माग भयो, अर्को बर्ष बजेटमा बृद्धि गरि माग अनुसारको बितरण गर्ने प्रयास गर्नेछौ, उहाँले भन्नुभयो । शहिद लखन गाउँपालिकामा एक हेक्टर जमिनमा करिब साढे १ टनसम्म कोदो उत्पादन हुने रोकाले बताउनुभयो । गाउँपालिकाले रु ७० हजार रुपैया पर्ने उक्त मेसिनमा रु ३५ हजार रुपैया अनुदान उपलब्ध गराएको थियो ।