काठमाडौँ, १८ भदौ । भारतको उत्तरप्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा कम्तिमा चार जना नेपाली नागरिकको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ३ बजे बाराबंकी जिल्लामा बसलाई ट्रकले ठक्कर दिँदा कम्तिमा चार जना नेपाली नागरिकको मृत्यु भएको र २४ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ । प्रहरीका अनुसार बसमा ६० जना नेपाली कामदार सवार थिए । सो बस नेपालबाट गोवा जाँदै थियो। तर महानगुपुर गाउँमा पुग्दा बसको एउटा टायर पन्चर भएको थियो।
सडक छेउमा रोकेर बसको टायर फेरिरहेको बेलामा तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख गरिएको छ । घाइते प्रेम थारू, सीतल थारू र चक्र बहादुर थारु र सनाखत नभएको एक जनाको पनि घटनास्थलमै मृत्यु भएको एक जना प्रहरी अधिकारी पुरनेन्दु सिंह जानकारी दिनुभयो ।
घाइतेहरूको बराबंकी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइते भएका ६ जनालाई लखनउको केजिएमयू ट्रमा सेन्टरमा रिफर गरिएको छ । ‘अरू यात्रुहरू सुरक्षित नै रहेका छन् । उनीहरूलाई नेपालमै फिर्ता पठाउने तयारीमा रहेको सिंहले बताउनु भयो । मृतकको शव पोष्टमर्टमको लागि अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान अघि बढाएको भारतीय प्रहरीले जनाएको छ।