उदयपुर, १८ भदौ । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।
उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीका स्थानीय ३७ वर्षीया राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीया छोरा सुजन बस्नेतको हत्या भएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिनुभयो ।
मृतक सबैको शव दिलुवाटारको स्थानीय वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको थियो । हत्या आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई बेलका नगरपालिका ६ वरबोटेबाट पक्राउ गरिएको छ । हत्याको आरोपमा एक जनालाई पक्राउ गरेर प्रारम्भिक अनुसन्धान सुरु गरिरहेको प्रहरीले बताएको छ ।
अनुसन्धान भइनसकेकाले घटनाको कारणबारे यसै भन्न नसकिने एसपी राईले बताउनुभयो । घटना कहिले भएको यकिन नभएपनि शुक्रबार शव भेटिएको र शव पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।