गोरखा, १७ भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखा जिल्ला समंन्वय समितिका संयोजक बिष्णुप्रसाद भट्ट (सुरेन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई गोरखाबाट उमेद्वारको रुपमा प्रस्ताव गर्ने बिषयमा जिल्ला पार्टी सकारात्मक रहेको बताउनु भएको छ ।
सामाजिक सञ्जाल लगायत केही सञ्चार माध्यमहरुमा भ्रामक समाचार प्रकाशन प्रशारण भएप्रति टिप्पणी गर्नुहुदै उहाँले प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा अध्यक्ष प्रचण्ड र २ मा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) लगायतका नेताहरुको बिषयमा छलफल भएको बताउनुभयो ।
‘भदौ १९ गते जिल्ला समन्वय समितिको बैठकको तयारीको सन्दर्भमा जिल्लामा जिम्मेवारीमा रहेका र उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बिहिबार बसेको हो, उहाँले भन्नुभयो, बैठकमा केही प्रस्तावहरु माथि छलफल भएको छ, औपचारिक निर्णय हुन बाँकी छ ।’
संयोजक भट्टले बैठकमा संमन्वय समितिको प्रथम बैठकको मोडालिटी, जिल्ला भित्रका अन्य समस्याहरु, आसन्न चुनावमा सम्भावित उमेद्वार आदीका बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष प्रचण्ड सवालमा गोरखा पार्टी सधै सकारात्मक रहेको भन्दै भ्रम नपर्न सवै पाटी पङ्तीलाई आग्रह समेत गर्नुभएको छ ।