गोरखा, १४ भदौ । शहिद लखन थापा गाउँपालिका वडा नम्वर ३ स्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा रहेको पशुपंक्षी सरसफाई केन्द्रमा अनलाइन प्रणाली मार्फत राजस्व संकलन कार्य सुरु भएको छ ।
गाउँपालिकाले पशुपंक्षी केन्द्रमा संकलन राजस्वलाई पारदर्शी बनाउनको लागि मंगलबारदेखि अनलाइन प्रणाली मार्फत राजस्व संकलन सुरु गरेको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो ।
मन्दिरमा आउने सेवाग्राहीहरुले कति बोका, कुखुरा सफाई गरे र सफाई गरे बापत कति रकम संकलन भयो भन्ने बारेमा सजिलै थाहा पाउनको लागि अनलाईन मार्फत सजिलो हुने भएकाले यो प्रणाली सुरु गरिएको अध्यक्ष मगरको भनाई छ । केन्द्रले एउटा बोका सफा गरे बापत सेवाग्राहीबाट रुपैया ४ सय ५० लिने गरेको छ ।
प्राप्त गरेको उक्त रकम केन्द्रमा कार्यरत कर्मचारीहरुलाई २ सय ५० रुपैया दिने र बाँकी २ सय रुपैया गाउँपालिकामा राजस्वको रुपमा संकलन हुने उहाँले बताउनु भयो । केन्द्रले यस अघि टिकट काटेर बोका, कुखुरा सफाई गर्दै आएको थियो ।
केन्द्रको कामलाई प्रभावकारी र थप पारदर्शी बनाउका लागि अनलाइन प्रणाली अपनाएको पशुपंक्षी सरसफाई केन्द्रले जनाएको छ ।