काठमाडौं, १३ भदौ । विभिन्न माग राखेर आइतबारदेखि देशभरको सामुदायिक विद्यालय बन्द गराएको विद्यालय कर्मचारी परिषदले आन्दोलन फिर्ता लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र छलफलका लागि बोलाएपछि परिषदले आन्दोलन फिर्ता लिएको हो ।
सोमबार मन्त्रालय, शिक्षक महासंघ र परिषदबीच मन्त्रालयमा भएको छलफलमा मन्त्रालयले समिति बनाएर वार्ता गर्ने भएपछि परिषद्ले आन्दोलन फिर्ता लिएको हो । उनीहरुले आन्दोलन फिर्ता लिएसँगै मंगलबारदेखि विद्यालय खुल्ने भएका छन् । परिषदले १८ गतेसम्म बन्द गर्ने घोषणालाई ऐक्यवद्धता जनाउँदै देशभरका करिब ९० प्रतिशत सामुदायिक विद्यालय सोमबार पनि बन्द भएका छन् ।
सोमबार भएको छलफलमा मन्त्रालयले विद्यालय कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्ने प्रतिवद्धता गरेपछि आन्दोलन स्थगित गरेको परिषदका महासचिव शान्तिनाथ योगीले जानकारी दिनुभयो।
अब हुने वार्तामा चित्तबुझ्दो सहमति नभए फेरि आन्दोलन थाल्ने उहाँले बताउनुभयो ।