काठमाडौं, ५ भदौ। प्रहरीले एक युवकको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन् ।
बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६स्थित महाङ्काल बस्ने २६ वर्षीय मनोज राईको हत्या गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियुक्तहरुले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको हो ।
शनिबार राति ९ः३० बजे भएको सो घटनामा प्रहरीले सङ्लग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुमाथि बौद्ध प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।