काठमाडौं, २ भदौ । नेपाली सेनासँग अमेरिकी सेना संयुक्त सैन्य अभ्यासका लागि आएको भन्दै कतै नेपाल आइपिएसको अंग बनेको त हैन भन्दै सांसद चाँदतारा कुमारीले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उहाँले नेपाली सेनासँग संयूक्त सैन्य अभ्यासका लागि सोमबार क्याप्टेन भ्लेक डुकारेकको नेतृत्वमा १६ सदस्यीय टोली नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न आएको बताउनु भयो । रेन्जर गणका नेपाली सेनाका ८० जनाले संयुक्त रुपमा अभ्यास गर्ने बताउँदै यो अभ्यास २०६० सालदेखि चल्दै आएको बताउनु भयो ।
उहाँले अमेरिकासँग नेपालले एसपीपी सम्झौता नगर्ने भनिएको र गत साता प्रधानसेनापति अमेरिका भ्रमण जानु भएको उल्लेख गर्दै नेपाल कहीँ आइपिएसको अंग बन्न लागेको त हैन भन्दै प्रश्न गर्नु भयो । विश्व नै विभिन्न ध्रुवमा ध्रुवीकृत हुन लागेकोले शंका उब्जिएको बताउँदै सो विषयमा सरकारको ध्यानाकषर्ण गराउँदै सतर्क रहन उहाँले आग्रह समेत गर्नु भयो ।