काठमाडौं, ३१ साउन । नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई र राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई नेकपा (माओवादी केन्द्र) ले संसदीय चुनावमा हँसिया हतौडामा चुनाव लड्न सहमति दिएको छ।
पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो।
उहाँको अनुसार बाबुराम भट्टराई र वामदेव गौतमलाई हँसिया हतौडामा चुनाव लड्न पार्टीले स्वीकृति दिएको हो।
उहाँहरूलाई सत्ता गठबन्धनमा सहभागी गराउने विषयमा समेत छलफल हुने महराले बताउनु भयो।
२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया—१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त हुनु भएको थियो ।
एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका उहाँ पछिल्लो वामपन्थी घटक मिलाउने अभियानमा सक्रिय हुनु हुन्थ्यो।
भट्टराईले भने २०७४ मा कांग्रेससँग गठबन्धन गरेर गोरखा—२ बाट प्रतिनिधि सभा सदस्य जित्नु भएको थियो ।