काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणालाई स्वीकादै चार दिवसीय नेपाल भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति महोमद अब्दुल हमिदको आज व्यस्त ‘सेड्युल’ रहेको छ । आज नेपाल र बङ्गलादेशबीचमा उच्चस्तरीय भेटवार्ता हुनुका साथै दुई देशका विविध विषयमा विचार विमर्श हुनेछन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न ४ः३० बजेदेखि ५ः०० बजेसम्म राष्ट्रपति भण्डारी र बंलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । यस भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति हमिद त्यसपछि राष्ट्रपति भण्डारीले आफ्नो स्वागतमा याक एण्ड यती होटलमा साँझ ८ः १५ बजे आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।
राष्ट्रपतिसँगको यी दुवै कार्यक्रम अघि राष्ट्रपति हमिदसँग अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति हमिदसँग आज दुईदेशीय सम्पर्क सञ्जाल, व्यापार र पर्यटनका प्रमुख विषयमा समझदारी हुने बुझिएको छ । परराष्ट्र मन्त्रालयका दक्षिण एसिया मामला हेर्ने एक अधिकारीका अनुसासार सडक सम्पर्क सञ्जालको भुटान, बङ्गलादेश, इन्डिया र नेपाल (बीबीआईएन) संयन्त्रबाट भुटान बाहिरिएपछि अब त्रिदेशीय ‘बीआईएन’ सडक सम्पर्क सञ्जाललाई अघि बढाउने विषयमा छलफल हुँदैछ ।
हवाई सम्पर्क विस्तारका लागि विराटनगर वा भद्रपुरबाट बङ्गलादेशको सैदपुर विमानस्थलमा क्षेत्रीय प्रकारको उडान सम्पर्क सुरु गर्नका लागि पहल हुनेछ । बङ्गलादेशसँग सहुलियतपूर्ण व्यापार सम्झौता (पीटीए) गर्ने प्रक्रियामा नेपाल रहेको र यसमा वाणिज्य सचिवस्तरीय सैद्धान्तिक सहमति भैसकेको छ ।