गोरखा, २६ साउन । गोरखाको एक गाँउपालिका अध्यक्षद्धारा पहिलो महिनाको सेवा सुबिधा विधालयलाई हस्तान्तरण गरिएको छ ।
गण्डकी गाँउपालिकाका अध्यक्ष दिपक तिमल्सिना (साकार)ले आफ्नो पहिलो महिनाको सेवा सुविधा हिजो वडा नं. ७ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयका प्रध्यानध्यापक दिल बहादुर गुरुङलाई हस्तान्तरण गर्नु भएको हो ।
निर्वाचनको बेला शिक्षालाई प्रथामिकता दिने भनेर आफूले जनतालाई बचन दिएकाले भत्ता तथा सेवा सुविधा मार्फत प्राप्त रकम विद्यालयलाई दिएको उहाँले जानकारी दिनुभयो । ‘मैले निर्वाचनको बेला गाँउपालिका भित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए ’ उहाँले भन्नुभयो ‘ त्यसैले निर्वाचन पश्चात कार्यसमिति सँग छलफल गरेर भत्ता तथा सेवा सुविधा मार्फत प्राप्त भएको ३६ हजार २ सय रुपैयाँ मैले विद्यालयलाई दिएको हो ।’
आफु पहिले त्यहीँ विद्यालयमा अध्ययन गरेर राजनितिक क्षेत्रमा लागेर भूमिगत भई यहाँसम्म आइपुगेको तथा गाँउपालिका भित्रको नमुना विद्यालय भएकाले पनि अनुदान स्वरुप रकम दिएको उहाँले बताउनुभयो ।
अहिले उक्त विद्यालयमा चेपाङ छात्राबास सञ्चालन भईरहेको छ । सो छात्राबास सञ्चालनमा केही सहयोग मिलोस् भनेर अनुदान दिएको उहाँको भनाइ छ ।
आफुले दिएको रकमले त्यहाँ अध्ययरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पढाईमा टेवा पुगी उच्च शिक्षा हाँसिल गर्न सहज हुने उहाँले अपेक्षा राख्नु भएको छ ।