Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नहर भत्किँदा नगरपालिका डुबानमा


1.6K
Shares

नहर भत्किँदा नगरपालिका डुबानमा

सप्तरी, २३ साउन । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । अविरल वर्षाका कारण नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले ओभरफ्लो भई पानी चन्द्रनहर नहरमा खसेको र त्यसपछि नहर भत्किदा अधिकांश वडा डुबानमा परेको हो ।

पूर्वमा सप्तकोशी नदी, पश्चिममा चुरे पहाड र उत्तरमा त्रियुगा नदीको मध्यमा रहेको सप्तकोशी नगरपालिकाका विभिन्न वडाका सयौं घर डुबानमा परी लाखौं रुपैयाँ बराबरको क्षति भएको नगरपालिका–२ का वडाध्यक्ष जाहिर हुसेनले जानाकारी दिनुभयो । नगरको ११ वटै वडाका घर बाढीका कारण प्रभावित भएको र घर डुबानमा पर्नुका साथै भर्खरै लगाएको सयौं बिघा धान खेती जलमग्न भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले बताउनु भयो ।

रातको समयमा नहर भत्किएर पानी प्रवेश गर्दा सरसमान सुरक्षित गर्न नपाएको कारण वर्षाले–१ को वडा कार्यालयमा पानी पसेर कम्प्युटरलगायत कागजपत्र भिजेर क्षति भएको कार्यालयका सहायक राजकुमार रामले बताउनु भयो । वडा कार्यालय अगाडिको अग्रवाल स्टोरको गोदाम घरमा ६ फिटसम्म पानी जमेका कारण लाखौं मूल्यको खाद्यान्न सामग्री भिजेर नोक्सान भएको मनोज अग्रवालले बताए।

खहरे खोलामा आउने बाढी पास गर्न बनाइएका साइफन र कल्भर्ट थुनिएका कारण बाढीले नहरमा क्षति पुर्‍याएको स्थानीयको भनाइ छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमसेरले निर्माण गराएको चन्द्र नहर मुलुककै सबभन्दा पुरानो सिँचाइ प्रणाली हो । नहरको मुख्य बाँधदेखि गंगा जलीखोलासम्म निर्माण भएका करिब एक दर्जन साइफन बन्द रहने गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology