स्याङ्जा, २२ साउन । स्याङ्जामा छ महिने छोरीको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
लक्ष्मीले आफ्नै छ महिने छोरीलाई हत्या गरी फालेको आरोप छ । साउन १० गते घरमा कसैलाई खबर नगरी छ महिने छोरीसहित लिएर सम्पर्कबिहीन भएकी थिइन् । उनी सम्पर्कबिहीन भएपछि ससुराले साउन १२ गते प्रहरीलाई खबर गर्नु भएको थियो । पछि लक्ष्मीले केदारसँग भागेर विवाह गरेको भन्ने सूचना प्रहरीले पायो । सोही सूचनाको आधारमा खोजी थालेको थियो । खोजी गर्दा उनी गत शुक्रबार दिउँसो गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजारमा फेला परेकी थिइन्।
अनुसन्धानको क्रममा उनले साउन १० को मध्यराति शौचालयको खाल्टोमा फालेको खुलेको हो । त्यहाँबाट प्रहरीले शव सडिगलिसकेको अवस्थामा फेला पारेको हो । घटनामाथि थप अनुसन्धान गर्न लक्ष्मी र केदारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।