सल्यान, २१ साउन । सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। शारदा नगरपालिका – ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो।
जोशना बस्नेत लाई जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७ बजेतिर प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो।जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो।
शुक्रबार बेलुका जंगलबाट च्याउ घरमा ल्याइ पकाएर खादा ४० वर्षीया मिना बस्नेत, उहाँकी छोरी २५ वर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेत र उहाँका ९ वर्षीय छोरा जोन बस्नेत बिरामी भएका छन् । जंगली च्याउको तरकारी खाएका उहाँहरू बिरामी परेपनि शनिबार बिहान ६ बजेतिर मात्रै जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो।
जोन बस्नेत र जोशना बस्नेतलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो। जसमध्ये जोशनाको मृत्यु भइसकेको छ। जोनको भने सुर्खेतमा उपचार जारी छ। त्यस्तै बिरामी मध्ये मिना बस्नेत र पबित्रा बस्नेतलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको डिएसपी खड्काले जानकारी दिनुभयो।