धनगढी, २० साउन । कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो जीपमा डोटीबाट ल्याउँदै गरेको छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोटीका जोरायल गाउँपालिका–२ का जीप चालक समिर ओली, कैलालीका चुरे गाउँपालिका–६ बस्ने टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडीको डिलासैन गाउँपालिका–२ बस्ने राजेन्द्रसिंह भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानाकारी दिनुभयो ।
उनीहरूले सेतो प्लाष्टिक कट्टामा बाघको छाला र हड्डीहरू बाँधेको अवस्थामा बरामद गरिएको छ । डीएसपी जोशीकाअनुसार प्रारम्भिक सोधपुछका क्रममा चालक ओलीले बुडरबाट बोलेरो जिप चलाएर फल्टुडेमा बाघको छाला र हड्डी हालेर बिक्री गर्ने उदेश्यले चारै जनाको सहमतिमा अत्तरियातर्फ आएको बुझिएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।