काठमाडौं, १६ साउन । आयोजक इंग्ल्याण्डले सर्वाधिक ८ पटकको च्याम्पियन जर्मनीलाई २–१ ले पराजित गर्दै पहिलो पटक महिला युरो कपको उपाधि जितेको छ । आइतबार राती वेम्लीमा भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डले जर्मनीलाई अतिरिक्त समयमा पराजित गरेको हो ।
कीर्तिमानी ८७ हजार १९२ उपस्थित दर्शकसामु वैकल्पिक खेलाडी छलोए केलीले अतिरिक्त समयमा निर्णायक गोल गर्नु भयो । रोमाञ्चक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । इला टोनीले ६२ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाउनु भएको थियो । लिना मागुलले ७९ औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काउनु भयो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जसमा केली नायक बन्दै ११०औं मिनेटमा गोल गरेपछि इंग्ल्याण्डल पहिलो पटक च्याम्पियन बन्यो ।
इंग्ल्याण्ड महिला युरोकप जित्ने पाँचौ राष्ट्र समेत बनेको छ । यसअघि सन् २००९ मा पछिल्लो पटक फाइनल खेलेको इंग्लयाण्ड जर्मनीसँग नै पराजित भएको थियो । जर्मनीले सर्वाधिक ८ पटक उपाधि जित्दा नर्वेले दुई तथा स्वीडेन र नेदरल्याण्ड्सले १/१ पटक उपाधि जितेको छ ।