काठमाडौं, १३ साउन । एसपिपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा परराष्ट्र मन्त्री नारायण खड्काले संसदमा जवाफ दिने भएका छन्।
यसअघि साउन ५ गते बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिनु भएको थियो।
मन्त्रिपरिषद बैठकले एसपिपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भए पनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन।
सभामुख सापकोटाले सांसदहरूले एसपिपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको थियो।
एमालेका सांसद भीम रावलले पनि एसपिपीबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखले रूलिङ गर्नुपर्ने माग राख्नु भएको थियो।
यसैबीच दुई दिने नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग राजनीतिक भेटवार्ता गर्दै हुनु हुन्छ ।