जनकपुरधाम ११ साउन । मधेस प्रदेशका सभामुख र उपसभामुखले निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको तलब, भत्ता आफ्नो निजी बैंक खातामा बुझ्दै आएको तथ्य सार्वजनिक भएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ का प्रतिबेदनमा मधेस प्रदेशका सभामुख सरोज यादवको निर्णयअनुसार निजी सचिवालयमा कार्यरत १८ जना कर्मचारीको तलब, भत्ता सभामुख यादव र उपसभामुख उपमाकुमारी देवको बैंक खातामा पठाउने गरिएको सार्वजनिक भएको छ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारि श्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार सभामुखले आफ्नो निजी सचिवालयमा १० जनासम्म कर्मचारी राख्न पाउने व्यवस्था गरिएको छ। त्यसैगरी, उपसभामुखले ८ जना कर्मचारी राख्न पाउने व्यवस्था प्रदेशसभाबाट नै भएको छ। महालेखाको प्रतिवेदनअनुसार सभामुखले १० जना कर्मचारीको पारिश्रमिकबापत वार्षिक २४ लाख २९ हजार र उपसभामुखले ८ जना कर्मचारीको पारिश्रमिकबापत १६ लाख ४६ हजार रुपैयाँ आफ्नो निजी बैंक खातामा रकम बुझेका छन्।
कर्मचारीको तलब, भत्ता निजी खातामा बुझेका सभामुख र उपसभामुखले सम्बन्धित कर्मचारीले पारिश्रमिक प्राप्त गरेको भरपाइसमेत पेस नगरेको महालेखाको प्रतिवेदनमा उल्लेखित छ।