Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कोभिडविरूद्ध पूर्ण खोप लगाउने नेपालकै पहिलो जिल्ला बन्यो नवलपरासी


2K
Shares

कोभिडविरूद्ध पूर्ण खोप लगाउने नेपालकै पहिलो जिल्ला बन्यो नवलपरासी

रासस, ९ साउन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड—१९ विरूद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ। नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड— १९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन्।

बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरूद्धको खोप लगाएकाले कोभिड— १९ विरूद्धको खोप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई नेपालकै पहिलो कोभिड—१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो।

‘यस जिल्लाका नागरिक आज बधाईका पात्र हुनुहुन्छ, सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर आजबाटै पश्चिम नवलपरासीलाई कोभिड—१९ विरूद्धको पूर्ण खोपयुक्त पहिलो जिल्ला घोषणा गरेका छौं,’ उहाँले भन्नु भयो। जिल्लाका सातै स्थानीय तहले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड—१९ विरूद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेका थिए।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट साउन ८ गते भएको अनुगमन, निरीक्षण तथा भेरिफिकेसनबाट समेत पूर्ण खोप सुनिश्चितता घोषणाको सम्पूर्ण प्रक्रिया पूरा भएकाले कोभिड—१९ विरूद्धको पूर्ण खोप सुनिश्चित जिल्ला हुन सफल भएको प्रजिअ पोखरेलले बताउनु भयो। कोभिड—१९ पुनः बढ्ने क्रममा रहेकाले स्वास्थ्य सुरक्षका मापदण्ड पालना गर्न र सतर्कता अपनाउन समेत उहाँले आग्रह गर्नु भयो।

पश्चिम नवलपरासीमा १२ वर्ष माथिका खोप लगाउन योग्य कूल दुई लाख ९२ हजार ४३६ जनसङ्ख्यामध्ये ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो।

आजै पश्चिम नवलपरासीलाई पूर्ण खोप दीगोपना सुनिश्चित जिल्ला पनि घोषणा गरिएको छ। पन्ध्र महिना सम्मका सबै बालबालिकाले सरकारले तोकेका १३ प्रकारका नियमित खोप लगाएकोले पूर्ण खोप दीगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती यादव (रुदल)ले जानकारी दिनुभयो।

नवलपरासी जिल्लालाई २०७० सालमै नेपालको पहिलो पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो। प्रत्येक वर्ष अनुगमन र दीगोपना घोषणा गर्ने क्रममा यसवर्ष १६ देखि २३ महिनासम्मका लक्षित चार हजार ८०७ बालबालिकामध्ये चार हजार ६६१ ले नियमित पूर्ण खोप प्राप्त गरेको र १४९ जना छुटेको पाइएपछि खोज तथा खोप अभियान सञ्चालन गरी १०० प्रतिशतलाई खोप लगाइएको, जिल्लाका सातै पालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको र लुम्बिनी प्रदेश सरकारको अनुगमनबाट भेरिफिकेशन भएका आधारमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताउनु भयो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology